
ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी तथा शैक्षिक अवसरको सहज पहुँचका लागि ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’ सार्वजनिक गरेको छ। रोजगारी र तालिमका अवसरबारे एकीकृत जानकारी दिनेसहित यो प्रणालीले रोजगारदाता र रोजगार खोज्नेहरूबीच डिजिटल समन्वय गर्ने लक्ष्य लिएको छ।
महानगरको रोजगार सेवा केन्द्रले ‘स्किल ल्याब’को सहकार्यमा सुरु गरेको यो प्लेटफर्मले स्थानीय युवालाई उपयुक्त रोजगारी तथा तालिममा जोड्ने माध्यम बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै ललितपुरलाई आईटीको केन्द्र बनाउने लक्ष्य रहेको बताए।
महर्जनले ‘कर्मकाण्डी’ शैलीबाट बाहिर निस्केर परिणाममुखी, नवप्रवर्तनमैत्री सेवा आवश्यक रहेको उल्लेख गर्दै आजको डिजिटल युगमा प्रतिस्पर्धा गर्न प्रविधिमा दख्खल हुनुपर्ने धारणा व्यक्त गरे। उनले प्लेटफर्मलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी बनाइने जानकारी समेत दिए।
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले युवाका लागि यो प्लेटफर्म महत्वपूर्ण अवसर बन्ने बताउँदै रोजगारीको छनोटमा योग्यता र रुचिलाई प्राथमिकता दिन आग्रह गरिन्। उनले आफ्नै क्षमतामा विश्वास राख्दै गलत रोजगारी छनोट नगर्न सुझाव दिइन्।
स्किल ल्याब एशियाका प्राविधिक शिरिजङगहाङ राईले शिक्षादेखि रोजगारीसम्मको यात्रा सजिलो बनाउन प्लेटफर्मले महत्वपूर्ण भूमिका खेल्ने बताए। रोजगार सेवा केन्द्र प्रमुख लक्ष्मी कार्कीका अनुसार ललितपुरमा पछिल्लो ६ वर्षदेखि सञ्चालनमा रहेको रोजगार सेवा केन्द्रले अब यो डिजिटल पहलमार्फत सेवा अझ प्रभावकारी बनाउनेछ।
प्लेटफर्ममार्फत सीपयुक्त श्रमिक, महिला, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग तथा विदेशबाट फर्किएकाहरूलाई लक्षित गरी रोजगार र तालिममा समावेशी पहुँच सुनिश्चित गरिनेछ। यसले डिजिटल पहुँचमा रहेको खाडल घटाउँदै समता र अवसरको वातावरण बनाउने विश्वास व्यक्त गरिएको छ।
यस प्रविधिमैत्री अभियानले महानगरलाई स्मार्ट रोजगार सेवा प्रवाह गर्ने नमूना सहरको रूपमा उभ्याउने सम्भावना रहेको बताइएको छ। साथसाथै, युवापलायन कम गरी स्थानीय जनशक्तिको प्रभावकारी उपयोग हुने विश्वास गरिएको छ।

