
भर्जिनिया टेकका अनुसन्धानकर्ताहरूले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने वा हातको चलायमानता गुमाएका व्यक्तिहरूका लागि दैनिक जीवनका काममा सहयोग पुर्याउने अत्याधुनिक रोबोटिक प्रणाली विकास गरेका छन्। यो प्रविधिको मुख्य उद्देश्य भनेको अपांगता भएका व्यक्तिहरूलाई खाना पकाउने, तरकारी काट्ने जस्ता नियमित कार्यहरूमा स्वतन्त्रता दिनु हो।
उक्त प्रणालीमा रहेको “एड्याप्टिभ ग्रिपर” नामक हात विशेष किसिमले डिजाइन गरिएको छ, जसले विभिन्न बनावट र आकारका वस्तुहरूलाई सजिलै समात्न सक्छ। नाजुक र संवेदनशील वस्तुहरू जस्तै फलफूल, बेक्ड वस्तु वा कोमल खाद्य सामग्रीलाई समेत हानि नगरी ह्यान्डल गर्न सक्ने यो प्रणाली अत्यन्तै सटीक र संवेदनशील छ।
प्रविधिको विकासमा संलग्न मेकानिकल इन्जिनियरिङका सह-प्राध्यापक डिलन लोसीका अनुसार, रोबोटले मानिसको प्राकृतिक चालहरूलाई अनुसरण गर्न सक्नुपर्छ भन्ने सोचका साथ यस प्रणालीलाई तयार पारिएको हो। उनका अनुसार केवल कार्य सम्पन्न गर्न सक्ने रोबोट निर्माण गर्नु पर्याप्त हुँदैन, ती प्रयोगकर्ता मैत्री र सहज रूपमा सञ्चालन गर्न सकिने हुनुपर्छ।
यो प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पनि प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको आदेशको सही व्याख्या गर्दै आवश्यक गतिविधि सम्पन्न गर्न मद्दत गर्छ। सुरुमा रोबोटलाई जोइस्टिकमार्फत नियन्त्रण गरिन्छ, तर भविष्यमा यसलाई पूर्ण रूपमा प्रयोगकर्ताको आशय बुझेको आधारमा स्वतः कार्य गर्न सक्ने बनाउने लक्ष्य राखिएको छ।
अनुसन्धान टोलीले अब यस्तो रोबोट निर्माण गर्ने लक्ष्य लिएको छ, जसले विभिन्न प्रकृतिका वस्तुहरू कडा, नरम, ठूला, साना, वा फरक बनावट भएकालाई सजिलै बुझ्न र प्रयोगकर्ताको आवश्यकता अनुसार काम गर्न सक्नेछ।
यसले अपांगता भएका व्यक्तिहरूको दैनिकीमा नयाँ सम्भावना र आत्मनिर्भरता ल्याउने विश्वास गरिएको छ। यस प्रविधिको विकासले भविष्यमा घरायसी काममा निर्भरता घटाउने मात्र होइन, मानव–मेशिन सहकार्यको नयाँ ढोका पनि खोल्नेछ।

