कक्षा १२ को नतिजामा सुधारको संकेत, तर चुनौती कायमै

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ, जसअनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थीले ग्रेडिङ (उत्तीर्ण) प्राप्त गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी हो। गत वर्ष ५२.१५ प्रतिशत मात्र विद्यार्थी ग्रेडिङमा परेका थिए।

बोर्डका अनुसार कूल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ५३ हजार ८ सय ८२ जना ‘ननग्रेडेड’ भएका छन्। ‘ननग्रेडेड’ परीक्षार्थीहरू तत्काल माथिल्लो तहमा भर्ना हुन पाउने छैनन्। दुई विषयसम्म अनुत्तीर्ण भएकाहरूका लागि भदौ २८ र २९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ।

यसपटक नियमिततर्फ सुधार देखिए पनि आंशिकतर्फको नतिजा चिन्ताजनक रहेको बोर्डले जनाएको छ। आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० जना परीक्षार्थीमध्ये ३६.४९ प्रतिशत मात्र ग्रेडेड भएका छन्। बाँकी ७२ हजार ८ सयले भने ग्रेडवृद्धि परीक्षा दिनसमेत नपाउने भएका छन्।

प्रदेशगत रूपमा हेर्दा बागमती (७०.४७%) र गण्डकी (६४.२२%) को नतिजा राष्ट्रिय औसतभन्दा माथि देखिएको छ भने कर्णाली प्रदेशमा ५०.१८ प्रतिशत मात्र विद्यार्थी ग्रेडिङमा परेका छन्, जुन सबैभन्दा कमजोर नतिजा हो। मधेश, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका नतिजा पनि औसतभन्दा कमजोर देखिएका छन्।

विषयगत रूपमा अंग्रेजी, लेखा, सामाजिक, अर्थशास्त्र र बिजिनेस स्टडिजजस्ता विषयहरूमा धेरैजसो विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। अंग्रेजीमा मात्रै ६६ हजार विद्यार्थी अनुत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयहरूमा वर्षौंदेखि शिक्षकको अभाव, विशेषतः गणित, विज्ञान र अंग्रेजी विषयमा स्थायी दरबन्दी नहुनुले सिकाइमा गम्भीर असर परेको शिक्षाविद्हरूको बुझाइ छ।

यसपटक १३ हजार ५०२ जनाले ३.६० देखि ४ सम्मको जीपीए प्राप्त गरेका छन् भने ५५ हजार ८९६ जनाले ३.२० देखि ३.६०, र ९४ हजार २६८ जनाले २.८० देखि ३.२० सम्मको जीपीए ल्याएका छन्। न्यूनतम १.६० देखि २.० को बीचमा जीपीए ल्याउने विद्यार्थीको संख्या २३ रहेको छ।

पठनपाठनको सुधार, स्थानीय तहको भूमिकासहित परीक्षा प्रणालीको प्रभावकारिताको पुनर्मूल्यांकन आवश्यक देखिएको छ। शिक्षा प्रणालीको दीर्घकालीन सुधारका लागि नीतिगत निर्णय र स्रोत साधनको व्यवस्थापन अपरिहार्य देखिन्छ।

तपाईको प्रतिकृया