अलिबाबाद्वारा एआई क्षेत्रमा ठूलो लगानीको घोषणा

बीबीसीका अनुसार, चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आगामी तीन वर्षभित्र कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्युटिङ क्षेत्रमा ३८० अर्ब युआन (५२.४४ अर्ब अमेरिकी डलर) भन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले यसअघि आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सो क्षेत्रमा लगानीको योजना बनाइरहेको खुलासा गरेको थियो तर त्यसबेला लगानीको ठोस विवरण दिएको थिएन।

अलिबाबाले सन् २०२५ को सुरुवात नै चीनको एआई दौडमा अगाडि बढ्दै गरेको कम्पनीका रूपमा गरेको छ। रणनीतिक व्यापारिक सम्झौतामार्फत यस क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न सफल भएको देखिन्छ। यसै कारण कम्पनीको शेयर मूल्य यस वर्ष मात्रै ६८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यो लगानी रकम कम्पनीले विगत एक दशकमा एआई र क्लाउड कम्प्युटिङमा खर्च गरेको रकमभन्दा पनि बढी रहेको बताइएको छ।

चिनियाँ प्रविधि उद्योग अहिले तीव्र प्रतिस्पर्धामा रहेको छ। एआई र क्लाउड कम्प्युटिङको क्षेत्रमा मात्रै नभई डिजिटल प्रविधिमा समेत अग्रणी बन्ने होडबाजी देखिएको छ। यसै क्रममा, अलिबाबाका प्रतिस्पर्धी कम्पनीहरू पनि ठूला लगानी घोषणा गर्दै अगाडि बढिरहेका छन्। टिकटकको स्वामित्वमा रहेको बाइटडान्सले पनि सन् २०२४ का लागि १५० अर्ब युआनभन्दा बढी पूँजीगत खर्चको योजना बनाएको छ, जसको प्रमुख हिस्सा एआई प्रविधिमा केन्द्रित रहने बताइएको छ।

अलिबाबाको लगानी घोषणाले चीनमा एआई प्रविधि र क्लाउड कम्प्युटिङ क्षेत्रमा तीव्र विकासलाई थप गति दिने अनुमान गरिएको छ। विश्वभर प्रविधिको तीव्र विकास भइरहेको बेला चीन पनि यस दौडमा पछाडि नपर्ने रणनीतिमा देखिन्छ। एआई प्रविधिको विकास र क्लाउड कम्प्युटिङमा गरिएको लगानीले कम्पनीको व्यवसायिक सम्भावनालाई अझै सुदृढ बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिकृया