मस्कको १०० अर्ब डलर प्रस्ताव अस्वीकृत!, कसले हुन सक्छ?

एलन मस्कले च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईलाई १०० अर्ब डलरमा किन्ने प्रस्ताव गरेका छन्। तर ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। मस्कका वकिल मार्क टोबेरफले सोमबार यो कुराको पुष्टि गर्दै ओपनएआईको बोर्डलाई सबै सम्पत्ति आफ्नो जिम्मामा लिन प्रस्ताव पेश गरेको जानकारी दिए।

टेस्ला र एक्सका मालिकसमेत रहेका मस्कले लगानी कम्पनीहरु र आफ्नै एआई स्टार्टअप एक्सएआईसँग मिलेर च्याटजीपीटी निर्माता कम्पनीको नियन्त्रण आफ्नो हातमा लिने र यसलाई गैर-नाफामुखी अनुसन्धान प्रयोगशालाको रूपमा यसको मूल परोपकारी मिशनमा फर्काउने प्रस्ताव गरेका थिए।

तर अल्टम्यानले मस्कको प्रस्तावलाई अस्वीकार गर्दै सामाजिक सञ्जाल एक्समा भने, “ना धन्यवाद, तर यदि तपाईं चाहनुहुन्छ भने हामी ट्विटरलाई ९ अर्ब ७४ करोड डलरमा किन्न सक्छौं।” मस्कले २०२२ मा ट्विटर (अहिले एक्स)लाई ४४ अर्ब डलरमा किनेका थिए।

विश्वकै धनी व्यक्ति मस्क र अल्टम्यानबीचको सम्बन्ध मस्कले २०१८ मा ओपनएआईको बोर्ड छोडेपछि चिसिएको थियो। उनीहरुबीच को कम्पनीको नेतृत्व गर्ने भन्ने विषयमा विवाद थियो। मस्कले ओपनएआईले नाफा कमाउने उद्देश्यले आफ्नो मूल बडापत्रको उल्लंघन गरेको आरोप लगाउँदै कम्पनी र अल्टम्यानविरुद्ध धेरै मुद्दा दायर गरेका छन्।

मस्कले एक विज्ञप्तिमा भनेका छन्, “ओपनएआईलाई एक पटक फेरि खुला स्रोत, सुरक्षामा केन्द्रित र राम्रोको लागि काम गर्ने संस्थाको रूपमा फर्काउने समय आएको छ। हामी त्यो सुनिश्चित गर्नेछौं।” च्याटजीपीटीको प्यारेन्ट कम्पनीलाई खरिद गर्ने प्रस्तावलाई मस्कको स्वामित्वमा रहेको एक्सएआई, ब्यारन क्यापिटल ग्रुप, भ्यालुअर म्यानेजमेन्ट र अन्य धेरै निजी इक्विटी फर्महरूले समर्थन गरेका छन्।

तपाईको प्रतिकृया