
नेपालमा पछिल्लो केही वर्षयता इन्टरनेट सेवा आम नागरिकको दैनिकीसँग घनिष्ट रूपमा जोडिँदै गएको छ। व्यक्तिगत मनोरञ्जन, सूचना आदान–प्रदान, कार्यालयको कामदेखि अध्ययन–अध्यापनसम्म इन्टरनेट अपरिहार्य बन्दै गएसँगै यसको प्रयोगकर्ता सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। मोबाइल ब्रोडब्याण्डसँगै फाइबरमार्फत इन्टरनेट जडान गर्नेहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को छैटौँ महिना पुस मसान्तसम्मको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्ने प्रयोगकर्ताको संख्या ३० लाख २५ हजार ८३८ पुगेको छ। अघिल्लो महिना कार्तिक मसान्तसम्म यो संख्या ३० लाख ३ हजार ६४० रहेको थियो। यस आधारमा एक महिनामै ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता २२ हजार १९८ ले वृद्धि भएको देखिन्छ।
ग्राहक संख्याको आधारमा नेपालमा सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड अग्रस्थानमा रहेको छ। प्राधिकरणको तथ्याङ्कअनुसार २०८२ मंसिर मसान्तसम्म वर्ल्डलिंकका इन्टरनेट जडानकर्ता १० लाख ५३ हजार ३५ पुगेका छन्, जुन अघिल्लो महिनाको तुलनामा वृद्धि हो। यसले कम्पनीको बजार साख अझ सुदृढ भएको संकेत गर्दछ।
दोस्रो स्थानमा डिश मिडिया नेटवर्क रहेको छ, जसका इन्टरनेट जडानकर्ता ३ लाख ८३ हजार ८१६ पुगेका छन्। त्यस्तै, तेस्रो स्थानमा भायानेट कम्युनिकेशन प्रालि रहेको छ, जसका ग्राहक संख्या ३ लाख ४६ हजार १७७ पुगेको छ। चौथो स्थानमा क्लासिक टेक प्रालि रहेको छ भने यसको ग्राहक संख्या २ लाख ७२ हजार ५०० पुगेको छ।
सुबिसु केबलनेट प्रालि पाँचौँ स्थानमा रहेको छ। यद्यपि, कम्पनीको इन्टरनेट जडान संख्या २ लाख ५७ हजार २३४ मा झरेको देखिन्छ। त्यसपछि क्रमशः वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम, टेकमाइण्ड्स नेटवर्क प्रालि, वाइफाइ नेपाल प्रालि, सिजी कम्युनिकेसन प्रालि र ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि शीर्ष १० भित्र पर्न सफल भएका छन्।
विशेषज्ञहरूका अनुसार डिजिटल सेवा, अनलाइन शिक्षा, रिमोट कार्य प्रणाली र डिजिटल कारोबारको विस्तारसँगै आगामी दिनमा इन्टरनेट प्रयोगकर्ताको संख्या अझ बढ्ने सम्भावना उच्च छ। यसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

