प्रिपेड सिम प्रयोगकर्तालाई राहत, ९ केवाईसी अब अनलाइनबाट

नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूका लागि ठूलो राहत हुने नयाँ सेवा विस्तार गरेको छ। कम्पनीमा अभिलेख रहेको ग्राहक विवरण अर्थात् ‘Know Your Customer (९ केवाईसी)’ अब ग्राहक आफैंले अनलाइनमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था लागू गरिएको हो। डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्यसहित यो सुविधा सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ।

यस सेवाको परीक्षणगत शुभारम्भ गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट गरिएको थियो। परीक्षण सफल भएपछि कम्पनीको २२औं वार्षिकोत्सवको अवसर पारेर २०८२ माघ २२ गतेदेखि देशभरका सबै नेपाल टेलिकमका कार्यालयमार्फत यो सेवा औपचारिक रूपमा उपलब्ध गराइएको हो। अब देशका जुनसुकै स्थानमा रहेका जीएसएम प्रिपेड सिम प्रयोगकर्ताले आफ्नो विवरण अनलाइनमार्फत अद्यावधिक गर्न सक्नेछन्।

नेपाल टेलिकमका अनुसार हाल आफ्नो नाम, ठेगाना, नागरिकता विवरण वा अन्य व्यक्तिगत जानकारी सच्याउनुपर्ने ग्राहकले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मा प्रवेश गरी आवश्यक विवरण भर्न सक्नेछन्। अनलाइन फाराम भर्ने क्रममा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी प्रयोग गरी लगइन गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि ग्राहकले आफ्ना व्यक्तिगत विवरणका साथै आफूले नियमित रूपमा धेरै कल गर्ने पाँचवटा मोबाइल नम्बर समेत उल्लेख गर्नुपर्नेछ।

सबै विवरण अनलाइनमार्फत भरेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ। कार्यालयमा गरिएको प्रमाणीकरणपछि नेपाल टेलिकमको प्रणालीले ग्राहक विवरणलाई आधिकारिक रूपमा प्रमाणित गरी अद्यावधिक गर्नेछ।

नेपाल टेलिकमका अनुसार हाल पनि ठूलो संख्यामा ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्था छ। नयाँ अनलाइन प्रणाली लागू भएपछि विवरण सच्याउने प्रक्रिया छिटो, सहज र पारदर्शी हुने कम्पनीको विश्वास छ। यसबाट दूरसञ्चार सेवा मात्र होइन, अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ। डिजिटल नेपाल अभियानअनुसार सेवा प्रवाहलाई सरल बनाउने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिकृया